विराटनगर- प्रदेश १ सरकारले कोरोना महामारी नियन्त्रण र यसबाट भएको क्षति न्यूनीकरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारी गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बू) ले प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक २०७८/७९ को सिद्धान्त, उद्देश्य र प्राथमिकता सार्वजनिक गर्दै कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, उपचार, राहत, बेरोजगारी न्यूनीकरण, सुशासन र समृद्धमूलक कार्यक्रमलाई बजेटका प्राथमिकतामा राखिएको बताए।
उनले वित्तीय सङ्घीयतालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, वित्तीय अनुशासन कायम गराउने र दिगो विकासमा बजेट केन्द्रित रहने उल्लेख गर्दै विकासको गतिविधिलाई गतिशील बनाउने, प्रदेशमा आर्थिक विकास र समृद्धिको आधार खडा गर्ने तथा अर्थतन्त्रमा निजी क्षेत्रलाई पनि सहभागी गराउन प्रोत्साहन गरिने गरी बजेट ल्याउने बताए।
मन्त्री आङ्बुहाङले आगामी बजेटले प्रदेशको आन्तरिक आयको सुदृढीकरण गर्ने, राजस्व परामर्श समितिको नीतिलाई अवलम्बन गरिने तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने काममा मद्दत गर्ने भन्दै बजेटले स्रोतको सुनिश्चितता एवं व्यवस्थापनमा ध्यान दिनेमा जोड दिए।
उनले ठूला र प्राथमिकता प्राप्त योजनाहरु सम्पन्न गर्न सङ्घीय सरकारसँग पहल गर्ने भन्दै बजेटले रोजगार सिर्जना र उद्यमशीलताको विकासमा मद्दत गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।