नेपालगञ्ज– कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरंग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ।
कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो। कोरोना भाइरस सङ्क्रमण घटेसँगै आइतबारदेखि ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले बताए।
उनका अनुसार कोरोना भाइरस संक्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो। अब अस्पतालले कोरोना भाइरस संक्रमित र संक्रमित नभएका दुबैको उपचार सेवा नियमित गर्नेछ।
यसअघि नेपालगञ्ज मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित नभएका र शिक्षण अस्पताल कोहलपुरमा संक्रमित बिरामीको उपचार हुँदै आएको थियो।
नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित बिरामीको उपचार, शल्यक्रियालगायत सेवा दिइरहेको थियो।
शिक्षण अस्पताल नेपालगञ्जमा भने पहिलेदेखि नै ओपीडीलगायत सेवाको निरन्तरता थियो। कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।