रसुवा– रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ। हिमाली लिल्ला रसुवामा पहिलो पटक भेन्टिलेटर सुविधा उपलब्ध भएको हो।
निवर्तमान सांसद मोहन आचार्यले कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यद्वारा मिनी भेण्टिलेटर चार थान, अस्पताल भर्ना भएका बिरामी सुताउने शय्या पाँच, अक्सोमिटर ३० वटा एवं सर्जिकल मास्क तीन हजारसमेत रु १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।
हस्तान्तरण भएका सामग्री धुञ्चेमा रहेको जिल्ला अस्पताल र जीवजीवेमा रहेको ग्रामीण अस्पताललाई बराबर दिने आचार्यको निर्देशनबमोजिम प्राप्त सामग्री अस्पतालमा पठाइसकिएको प्रजिअ ढकालले जानकारी दिए।
कोभिड–१९ को जटिल अवस्थामा आचार्यद्वारा प्राप्त सामग्री जनहितकारी भएको कोभिड नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ।
शरीरमा अक्सिजन कमी हुन गई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारमा सहज पार्ने पबित्र भावले जिल्लामा रहेका दुईवटा अस्पताललाई आफ्नो व्यक्तिगत तवरबाट भेन्टिलेटरसमेत सहयोग प्रदान गरेको आचार्यले बताए।
एउटा पनि भेन्टिलेटर व्यवस्थापन गर्न नसकिएको अवस्थामा निवर्तमान सांसद आचार्यबाट प्रदान भएका भेन्टिलेटरले अब स्थानीयस्तरमै जटिल बिरामी उपचार गर्न सहज भएको रसुवा अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा भुवन केसीले बताए। रसुवामा भेन्टिलेटर नहुँदा जटिल बिरामीलाई नुवाकोटको त्रिशूली र काठमाडौँका अस्पतालमा सिफारिश गर्नुपर्ने समस्या सांसद्को सहयोगले हल भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।