चितवन– स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गरेको आरोपमा चितवनका ३८८ व्यवसायी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लंघन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो।
पक्राउ परेकालाई १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ। निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको पौडेलले बताए।
यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँडडुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। होल्डमा राखिएकामा मास्क नलगाई हिँडडुल गर्ने पनि छन्।
निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका सात हजार ७ सय सवारी साधनलाई कारबाही गरिएको उनले जानकारी दिए।
निषेधाज्ञा उल्लंघन गर्नेबाट कारबाहीबाट २२ लाख ९१ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ। जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।