काठमाडौं- कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ। अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्यकता नरहेको जनाएको हो।
दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघि कामपाले १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो। महानगर प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अहिले सञ्चालनमा आएका अस्पतालमा पनि बिरामीको सङ्ख्या कम रहेकाले तत्कालका लागि थप सञ्चालनको योजना नरहेको हो।
“बिरामीको सङ्ख्या बढे त्यसमा पुनः विचार गरिन्छ”, उनले भने, “कामपाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याए पनि हाल उक्त स्थानमा १६ वटा शय्या मात्र सञ्चालनमा आएको छ।” उनका अनुसार धेरै सङ्क्रमित घरमै आइसोलेशनमा छन्, केही मात्रै अस्पताल गएकाले पनि निर्माण भएको अक्सिजनसहितका अस्पतालहरुमा शय्याअनुसार बिरामी नभएका हुन्।
त्यस्तै, कामपाकै सहयोगमा सञ्चालित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेदिक अस्पताल पनि जम्मा सङ्ख्याको २० प्रतिशत मात्रै कोरोनाका बिरामीले उपचार गराइरहेको कामपाको भनाइ छ ।
हाल कामपामा ६१ हजार ९२४ कोरोना सङ्क्रमित रहेकामा ५० हजार ६८९ जना निको भएका छन् भने १० हजार १२५ होम आइसोलेसन र १७० संस्थागत आइसोलेसनमा रहेका छन । त्यस्तै हाल १० हजार ८१६ सक्रिय सङ्क्रमितमध्ये ५२१ ले अस्पतामा उपचार गराइरहेका छन् । कोरोनाका कारण ४१९ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ।
कोभिडका बिरामीलई उपचारमा सहज होस् भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ। बिरामीलाई अस्पतालमा पुग्न सहज होस् भनी कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा कामपाले सञ्चालनमा ल्याएको छ। यी माध्यमबाट हालसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीले सेवा लिएका छन्।
३०९ शय्याको आइसोलेशनसहित अस्पताल सञ्चालनमा
कामपाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याडको आइसोलेशन र विषेश अस्पताल सञ्चालनमा ल्याएको छ।
कामपाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र, आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १०० शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटरसहितको ३५ शय्याको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छन्।
सङ्क्रमण दरमा कमी
कामपामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ। अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने गरेको थियो। अहिले २५ प्रतिशत सङ्क्रमण दर घटेर ४५ प्रतिशतमा आएको छ।
अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा कोरोना सङ्क्रमित बढेपछि कामपाले स्वाब सङ्कलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो। महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकतानुरूप टोली तयारी अवस्थामा रहेको छ।
“कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ, जसले गर्दा अघिल्लो हप्ताको तुलनामा कमी आएको छ”, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।