नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको छ। नगरपालिकाले खुला टेण्डरमार्फत बिउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो।
चालु आर्थिक वर्ष २०७७/७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ, सावित्री र राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए।
धानको बिउ राख्ने बेलामा किसानलाई कुनै समस्या नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरी किसानलाई समयमै उपलब्ध गराइएको उनको भनाइ छ।
बजारमा प्रतिकिलो रु ११० मा बिक्री हुने धानको बिउ नगरपालिकाले खुल्ला टेण्डरमार्फत रु ७२ मा खरिद गरेर किसानहरुलाई रु ३६ मा उपलब्ध गराएको सापकोटाले बताए। नगरपालिकाभित्रका चार हजार ५ सय घरधुरीलाई ५१ हजार ३१० किलो धानको बिउ अनुदानमा वितरण गरिएको सापकोटाले जानकारी दिए।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।