प्रतिकात्मक तस्वीर
दार्चुला– सात महिना अगाडि समस्या देखिएको नेपाल टेलिकमको टावरको मर्मत नहुँदा दार्चुलाको दाङ्गरु–तिङ्कर क्षेत्रका स्थानीय सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन्।
व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको सीडीएमए (स्काई) सेवाको टावरको मर्मत नहुँदा गत मंसिरदेखि स्थानीय वासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन्। गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पुर्याएको थियो।
सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका–१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट वञ्चित भएका छन्। स्काई टावर राखिएको घर नै हिमपातले भत्काएको छ।
भवनको छत भत्किएपछि भवनभित्र रहेका टेलिकमको विटिएस, रेडियो प्रणालीलगायतमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए। उनले भने, ‘भवन पूरै भत्काएको छ, के कति क्षति भयो भन्ने यकिन जानकारी हामीसँग पनि छैन्।’
टावर पूरै क्षतिग्रस्त भएकाले मर्मत गर्नसक्ने अवस्था नभएको प्रमुख गुरुङको भनाइ छ। ‘सामान्य अवस्थामा भए हामीले नै मर्मतसम्भार गर्थ्यौं ’, उनले भने, ‘टावर पूरै क्षतिग्रस्त भएकाले हामीले बनाउन सक्ने अवस्था रहेन्। टावरले काम नगरेकोबारे सम्बन्धित निकायलाई जानकारी गराइएको छ।’
अहिले व्यासमा भाइनेट इन्टरेन मात्र चलेको छ। ‘वाइफाइबाट मात्र आफन्तसँग कुराकानी गर्न मिलेको छ’, छाङ्गरुका स्थानीय योगेश बोहराले भने, ‘फोन गर्न पाइएको छैन्।’
छाङ्गरुमा नेपाल टेलिकमले दुई ल्यान्डलाइन जडान गरेको छ। अहिले त्यो फोन सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ। नागरिकले दिनहुँ व्यक्तिगत सम्पर्क गर्नको लागि सशस्त्र प्रहरीकामा गएर कुराकानी गर्न पनि समस्या हुने गरेको स्थानीय बताउँछन्। छाङ्गरुमै नमस्तेको फोरजी सेवासहितको फोन पुनः सञ्चालन गर्न भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।