काठमाडाैं- काठमाडौं महानगरपालिकाले सुरु गरेको बृहत् एन्टिजेन विधिबाट एकै दिन ९५७ जनाले कोभिड परीक्षण गराएका छन्। दोस्रो लहरको कोभिड-१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदायस्तरमा बृहत् परीक्षण थालेको हो।
शुक्रबारदेखि गरिएको परीक्षणमा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजिटिभ देखिएको छ। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो।
परीक्षणबाट तत्काल रिपोर्ट आउँछ। त्यसपछि पोजिटिभ देखिएकालाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए। त्यसैगरी आज वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ। आइतबार वडा १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुनेछ। सोमबार ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ वडा र जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ वडामा परीक्षण हुनेछ।
हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिनेछ। पाँच दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरिसकिने लक्ष्य कामपाको रहेको छ। कोभिडको लक्षण देखिएका, कन्ट्रयाक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको हो।
कामपाले परीक्षणको प्रारम्भिक योजना बनाएको छ। जसअनुसार ठूला १५ वटा वडामा प्रति वडा दुई वटा केन्द्र राखेर परीक्षण गरिनेछ भने १७ वटा साना वडामा हरेक एक/एक वटा केन्द्र राखिने छन्। परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।