भक्तपुर– भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ। यहाँ हाल तीन हजार ५९७ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।भक्तपुरमा मङ्गलबार तीन हजार ७२४, सोमबार तीन हजार ९५४, आइतबार चार हजार ६७ र शनिबार चार हजार १२० सक्रिय सङ्क्रमित रहेका थिए।
यहाँका सक्रिय सङ्क्रमितमध्ये ११५ पुरुष र ८८ महिला विभिन्न अस्पताल र आइसोलेशन केन्द्रमा उपचाररत छन् । त्यस्तै एक हजार ८०३ पुरुष र एक हजार ५९१ महिला होमआइसोलेशनमा छन्।
भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बुधबार शून्यमा झरेको छ। नयाँ भेरिएन्टसहित कोरोनाको दोस्रो लहर सङ्क्रमणले दैनिक आधा दर्जनको सङ्ख्यामा सङ्क्रमितको मृत्यु भइरहेको भक्तपुरमा बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
भक्तपुरमा बुधबारसम्म २४५ सङ्क्रमितको मृत्यु भएको मिजारले जानकारी दिए। उनका अनुसार भक्तपुरमा मङ्गलबार आठ, सोमबार छ र आइतबार छ सङ्क्रमितको मृत्यु भएको थियो।
भक्तपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु भएकामध्ये १६२ पुरुष र ८३ महिला छन् । जिल्लाका चार स्थानीय तहमध्ये मध्यपुरथिमिमा ६१ पुरुष र २५ महिला गरी ८६ जनाको मृत्यु भएको मिजारले बताए।
त्यस्तै भक्तपुर नगरपालिकामा ३९ पुरुष र २६ महिला गरी ६५, सूर्यविनायक नगरपालिकामा ४१ पुरुष र २३ महिला गरी ६४ र चाँगुनारायण नगरपालिकामा २१ पुरुष र नौ महिला गरी ३० जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।