काठमाडौं- प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएका विपक्षी गठनबन्धनले बढीभन्दा बढी सांसद्को हस्ताक्षर जुटाउने प्रयास तीव्र पारेको छ। कागजपत्र मिलाउन भन्दै व्यस्त रहेका उनीहरु अहिले कांग्रेसको संसदीय दलको कार्यालयमा जुट्न थालेका हुन्।
केही बेरअघि काग्रेस नेता पूर्णबहादुर खड्का र रमेश लेखक माधव कुमार नेपाल पक्षका सांसदहरु जम्मा भएको सार्वजनिक लेखा समिति हलमा प्रवेश गरेका थिए। अब त्यहाँबाट सांसद्हरु निस्किएर कांग्रेस संसदीय दलको कार्यालयमा जम्मा हुन थालेका हुन्।
उनीहरु कागजपत्र तयार गरेर सर्वोच्च अदालतमा जानेछन्। कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने विपक्षी गठबन्धनको माग छ। उनीहरुले त्यही मागसहित रिट दर्ताको तयारी गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूले विश्वासको मत पुर्याउन नसक्ने भएकाले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आग्रह गरेका थिए। सोही अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाको समयावधि राखेर जेठ ७ गते बेलुका ५ बजेसम्मको समय दिएर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए।
शुक्रबार दिउँसो शेरबहादुर देउवाले १४९ जना सांसद्को हस्ताक्षर जुटाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हतारहतार एमाले र जसपाको तर्फबाट आफूलाई समर्थन रहेको भन्दै दाबी गरेका थिए। उनको दाबीसँगै राष्ट्रपतिले दुवै तर्फ हस्ताक्षर दोहोरिएको भन्दै दुवैको दाबी अस्वीकार गरेकी हुन्। जबकि, ओलीले सांसद्को हस्ताक्षर बुझाएका थिएनन्।
दाबी अस्वीकृत भएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार राति (शनिबार बिहान) नै प्रतिनिधि सभा विघटन गरेकी थिइन्। यो कदमको सर्वत्र विरोध हुँदै आएको छ।
शुक्रबार रातिको कदमका विरुद्ध विपक्षी गठबन्धनले विरोध जनाएका छन्। शनिबार बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, जसपाको डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले राजनीतिक र न्यायिक लडाइँ लड्ने निर्णय गरेका थिए। उनीहरुले आइतबार नै रिट गर्दा गर्ने तयारी गरेको भए पनि कागजात तयार हुन नसक्दा दर्ता हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।