डोटी– सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्। पछिल्लो समय प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या बढिरहेको छ। तर, सङ्क्रमित हुने दर भने घटेको छैन।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन्। यो संख्या कैलालीको कुल संक्रमितको झण्डै ६३ प्रतिशत हो। त्यसैगरी, अछाममा १९ सय १, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ सङ्क्रमित निको भएका छन्।
यसैगरी, कोरोना संक्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन् । निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय संक्रमित छन्।
सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २ सयमा संक्रमण देखिएका निर्देशनालयका निर्देशक डा गणराज अवस्थीले जानकारी दिए।
स्वास्थ्य निर्देशक डा अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३९७ जनाले ज्यान गुमाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।