लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएको बुधबार बिहान गएको भूकम्पले बेँसीशहर नगरपालिका– ६ चनौटेका ३६ वर्षीय उमा गुरुङको भत्किएको घर ।
लमजुङ- लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आएकी ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्छिन्।
उमा सधैँ बिहान उठेर घरधन्दा गर्थिन् तर बुधबार बिहान अवेरसम्म सुतिरहिन्। घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लाग्थिन्। छोरी श्रृती भने मनिङवाकमा जान्थिन्। उमा भने मस्त निन्द्रमै थिइन्।
छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो। निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटा हित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्यो।
‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु।’ उनले भनिन्, ‘‘एकछिन त आत्तिएँ। मुखैभरी माटाले भरिएको थियो। बोल्न त के श्वास फेर्न पनि सकिएन। विस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो। अब त मर्ने भएँ । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो। त्यसपछि झन् आत्तिएँ।’
उनले छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी छोराछोरी आएर उद्धार गरेका थिए ,
‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’ उमाले भनिन्। उनको पाँच जनाको परिवार छ। सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै थिए।
सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उनले बताए।
आमाले भूकम्प आएको थाहा पाउना साथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल भएकी थिइन्। उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्किएकी छिन्।
उमा यतिबेला घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहेकी छिन्। उक्त भूकम्पले उनी मात्र नभई जिल्लाका पाँच जना घाइते भए। दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौँ स्थानीय मर्कामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।