महोत्तरी- कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सात जनाको मृत्यु भएको छ। पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सात जनाको मृत्यु भएपछि सो गाउँभर त्रास फैलिएको छ।
गाउँमा मृत्यु संस्कार, विवाह भोज र व्रतबन्ध भोजजस्ता कार्यक्रमहरू भइरहेको र सयौँको सङ्ख्यामा मानिसहरु एकै थलोमा बसेर भोजभतेर खाने गरेको पाइएको छ।
कोरोनाकै कारण विभिन्न अस्पतालमा मृत्यु भएकाहरुको पनि गाउँमा दाहसंस्कारदेखि श्राद्ध कर्म भइरहेको र सो क्रममा भोजभतेर र सयौँ मानिस एकै ठाउँमा जमघट हुने गरेका छन्। यसका अलावा कोरोना महामारीकै बीचमा गाउँभरि अहिले व्रतबन्ध र विवाह जस्ता कार्यक्रम पनि भइरहेको वडाध्यक्ष रुपेश झाले बताए।
वडाध्यक्ष झाले आफूले गाउँलेहरूलाई भीडभाड नगर्न, भोजभतेर नगर्न, विवाह, व्रतबन्धजस्ता शुभकार्यमा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पूरा गर्न भनिरहँदा पनि गाउँलेहरु आफ्नो परम्परा र संस्कार भन्दै बेवास्ता गर्दै सबै क्रियाकलापहरू सञ्चालन गर्ने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।