सप्तरी– राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
उद्योगहरुको खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजन पाइन सक्ने अवस्था नदेखिएपछि डा झाले सहयोगका लागि सोमबार प्रमुख जिल्ला अधिकारीे, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल गरेका हुन्।
अस्पतालका सिलिण्डर रित्तिँदै गएको तथा सुनसरीको इटहरी र दुहबीस्थित उद्योगको डिपोमा खाली सिलिण्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका निमित्त मेसु डा झाले बताए।
अस्पतालमा हाल छवटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिण्डर छन्। तीमध्ये ७० वटा सिलिण्डर खाली भएका छन् ।
बाँकी रहेका सिलिण्डरबाट अन्य संकमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँँदै झाले आजसम्म अक्सिजन ल्याउन नसकिए धेरै संक्रमितको जीवन जोखिममा पर्ने बताए।
अस्पतालको एचडीयू व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६÷१६ जना कोरोना संकमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन्।
अस्पतालमा उपचाररतमध्ये अधिकांशलाई अक्सिजन लगाउनुपरेको भन्दै डा झाले आजसम्म अक्सिजन व्यवस्था नभए ठूलो जोखिम मोल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।