काठमाडाैं- हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात 'ताउकते'का कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरेता पनि अप्रत्यक्ष असर देखिने महाशाखाले जनाएको छ। चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर-उत्तरपश्चिमतिर बढ्ने क्रममा रहेको छ।
बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभावमात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए। चक्रवातको प्रभाव शुक्रबारसम्म रहने बताइएको छ।
मुलुकभर यस याममा प्रिमनसुनको गतिवधिका कारण मेघ गर्जन/चट्याङ/हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।