फाइल तस्बिर
भक्तपुर- कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० शय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ।
होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीका लागि नगरपालिकाले सरकारको सहयोगमा १०० शय्याको आइसोलेसन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए। आइसोलेसनका लागि शय्या, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो।
गत वर्ष कोरोना सङ्क्रमणका बेलामा लकडाउन हुँदा सरकारले उक्त कलेजमा शय्या राखेको थियो। पछि कोरोना कम भएर बिरामी राख्नुपर्ने अवस्था नभएपछि कलेजले शय्या हटाई सामान सबै गोदाममा राखेको थियो। यस वर्ष त्यही शय्या विस्तार गरिएको हो। कलेजको आइसोलेसनमा होम आइसोलेसनमा बस्न नसक्ने, अक्सिजन नचाहिने सामान्य बिरामी राखेको छ। आवश्यक परेमा अक्सिजन र स्वास्थ्यकर्मीसहितको टोली खटाइने नगर प्रमुख मिश्रले बताए।
नगरपालिकाले होम आइसोलेसनमा बस्ने बिरामीका लागि पनि चिकित्सकको व्यवस्था गरेको छ। नगरवासीलाई प्रत्येक दिन साँझ चिकित्सकसँग सङ्क्रमणमा परेका बिरामीले प्रत्यक्ष कुराकानी गर्ने र कस्ता औषधि सेवन गर्ने, होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरा, सावधानी अपनाउनुपर्ने बारेमा चिकित्सक र बिरामीको कुराकानीसहितको चिकित्सकसँग परामर्श कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख मिश्रले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।