काठमाडौं– सरकारले चीनबाट ल्याएको १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल आइपुगेको छ। स्थलमार्ग हुँदै ल्याइएको १८ हजार सिलिन्डर नेपाल आइपुगेको बताइएको छ।
१८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।
तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइने उनले बताए।
सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो।
यसअघि ४ सय सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो। १८ हजार आइसकेपछि बाँकी एक हजार ६ सय सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ।
यस्तै, आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदै छ। शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो।
शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली संघको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो। कोभिड–१९ का संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।