काठमाडौं– कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ। कामपासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो।
गत वर्षको महामारीमा पनि उक्त नगरले कामपालाई केही स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर यन्त्र पनि प्राप्त भएको महानगरले जनाएको छ। उक्त यन्त्र हाल प्रयोगमा छन्।
भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘काठमाडौँका नागरिकका तर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौँ।’
सहयोग प्राप्त सामग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुने उनको भनाइ छ।
भगिनी सम्बन्ध भएका चीनका अन्य नगरले पनि महामारीको समयमा सघाउने इच्छा व्यक्त गरेको कामपाले जनाएको छ।
जापानको मात्सुमोतो, कोरियाको सउल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्न सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन् । यद्यपि, हवाई यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन हुने महानगरको भनाइ छ।
सहयोगस्वरूप प्राप्त भेन्टिलेटरको मूल्य १ करोड ५० लाख रहेको र उक्त सामग्री वैशाख ३१ गते कामपामा आइपुगेको महानगरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।