काठमाडौं- राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले थापालाई दलको नेताबाट हटाइएको जानकारी प्रदेश सभा सचिवालयलाई दिइसकिएको र थापालाई थप स्पष्टीकरण सोधिएको बताए।
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई सघाउने पार्टीको निर्णय उल्लंघन गरेपछि उनलाई दलको नेताबाट हटाएर स्पष्टीकरण सोधिएको केसीले नेपाल लाइभलाई बताए।
गण्डकीमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई भोट दिने पार्टीको निर्णय नमानेपछि थापामाथि कारबाही अघि बढाइएको जनमोर्चाले जनाएको छ।
'कारबाहीको प्रक्रिया हुन्छ, त्यसअनुसार संसदीय दलको नेताबाट हटाएर स्पष्टीकरण मागेको हो', केसीले भने, 'बाँकी कारबाही के हुन्छ भन्ने तपाईंहरु छिटै थाहा पाइहाल्नुहुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।