काठमाडौं- नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको हो।
बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी थिए। बैठकले माओवादी केन्द्र र जसपाको सहयोगमा सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए।
'राष्ट्रपतिले ७६ (२) अनुसार सरकार बनाउनका लागि समय दिनुभएको छ', महतले भने, 'स्वभाविक रुपमा प्रधानमन्त्री विश्वासको मत लिन असफल भएपछि माओवादी केन्द्र र जसपाको सहयोगमा हामी दाबी गर्छौं र आवश्यक समर्थन जुटाउनका लागि पार्टी सम्पूर्ण रुपमा लाग्छ।'
उनले सिंगो जसपा आफूहरूको पक्षमा आउन सक्ने पनि बताए। 'पर्सिसम्म समय बाँकी छ। त्यतिञ्जेलसम्म परिस्थिति परिवर्तन हुन्छ। जसपा पनि हाम्रो पक्षमा आउने सम्भावना छ। माओवादी केन्द्र हाम्रै पक्षमा छ', उनले भने।
उनले तीन दल एक ठाउँमा नआए बहुमतको दाबी गर्ने अरु विकल्प पनि रहेको बताए। उनले एमालेको माधवकुमार नेपाल पक्षसँग पनि छलफल गरेर अघि बढ्ने बताए।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखभित्र बहुमतको सरकार गठनका लागि दाबी गर्न दलहरूलाई आह्वान गरेकी थिइन्।
कांग्रेस-माओवादीले नयाँ सरकार गठनका लागि दाबी गर्ने तयारी गरेपनि जसपाभित्रको मतभेदले समस्या हुने देखिएको छ।
जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीकै नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा छन्।
सोमबार पनि बाबुराम-उपेन्द्र पक्षले विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने महन्थ-राजेन्द्र पक्ष तटस्थ बसेको थियो। एमालेका माधवकुमार नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभा बैठकमा अनुपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।