काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन्।
केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए।
प्रचण्डले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाए। उनले भने, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ।”
सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो। चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उनको भनाइ थियो।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताइन्। कोभिड सङ्क्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उनले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारी, चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, चेम्बर अफ कमर्स, चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठ, एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटालगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।