फाइल तस्वीर गोदावरी– कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरु भएको छ। रुख काट्ने कामको थालनीसँगै निर्माणाधीन राजमार्गको कामले गति लिने भएको छ।
वनको कानूनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो। १० दिनभित्र रुख काट्ने काम सम्पन्न गरी राजमार्ग निर्माणको काम अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनियर पदम मडैले बताए।
वसन्ता वनक्षेत्रमा पर्ने १८ किलोमिटर मध्ये १६ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ। कैलारी गाउँपालिकाको बैजपुरदेखि वसन्ता सवडिभिजन वन कार्यालयसम्म बाँकी रहेको दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटानको कार्य अगाडि बढाइएपछि आयोजनाको काम अघि बढेको हो।
गत फागुन महिनामा मन्त्रिपरिषद् बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो।
सो खण्डमा १ सय वटा रुख हटाउन आवश्यक रहेको आयोजना कार्यालयको भनाइ छ। सो खण्डको ठेक्का अवधि जेठ मसान्तसम्म रहेको छ भने तुण्डी, प्रेरा, चन्द्रा एण्ड वसन्ता जेभीले निर्माणको ठेक्का पाएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।