सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ। सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो।
सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिइन्। उनका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रण पुष्टि भएको थियो। यस्तै बुधबार दुई तथा बिहीबार र आज चार/चार जनामा सङ्क्रमण पुष्टि भएको उनले बताइन्।
तीमध्ये कोरोना सङ्क्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेसन सेन्टरमा राखी उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ। अन्य आठ जनालार्ई होम आइसोलेसनमा राखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक/एक जना नागरिकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिइन्।
यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौं र एक जनालाई विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए। लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्यांकलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना सङ्क्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।