झापा– झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा शुक्रबार एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्याइएको छ।
भेन्टिलेटरसहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो। काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ।
अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सहित आइसियू श्यया अलग्गै छ। बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू श्यया छ। तीमध्ये २५ भेन्टिलेटरसहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकता अनुसार थप गर्दै जाने बताइएको छ।
अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत नौदिनदेखि उपचाररत् ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत् २९ वर्षीय हरि पौड्यालाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो। ती बिरामीका आफन्तले ती अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’ गरेका बताइएको छ।
सोही अस्पतालमा यही वैशाख १५ र २० गते काठमाडौँस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई सङ्क्रमितलाई थप उपचारार्थ ‘हवाई बेड सिफ्ट’ गरिएको थियो। ती बिरामीका आफन्तले भेन्टिलेटर सहितको आइसियू श्यया नपाएपछि बिएण्डसी लगेका थिए। अहिले ती बिरामीको स्वास्थ्यावस्था सन्तोषजनक रहेको चिकित्सकले जनाएका छन्।
जनसम्पर्क अधिकृत गिरीले भने ,“ भेन्टिलेटरसहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ। हामी गुणस्तरीय सेवादिन प्रतिवद्ध छौँ ” उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटरसहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ। विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन्।
श्रोत र साधन राज्यलाई प्रदान गर्न तयार– कार्यकारी निर्देश प्रसाईँ
प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोरोना सङ्क्रमितका उपचारमा बिएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए।
उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै श्यया र भेन्टिलेटर सहितका आइसियू श्यया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए।
उनले भने ,“विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन, आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु।” पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया छ। अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०÷७० सङ्ख्यामा सिटीस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ।
पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ जानुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ। अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ। कार्यकारी निर्देशक प्रसाईँले भने “हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पढाउने क्षमतामा छौँ। एमडी÷एमएससमेत पढाउन सक्छौँ। ”कलेजले सम्बन्धन पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा बार्षिक राजश्व समेत पाउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।