घुम्तीमा नआउ है आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन
एउटा गाउँले केटो साइकल चढेर काठमाडौं जागिर खान आउँछ। घुम्तीमा एउटी केटी सधैं आइरहन्छिन्। दुवैको आँखा घरीघरी जुध्छ, तर बोलचाल भने हुँदैन। यसै विषयमा प्रेमध्वजकी आमाले गीत लेख्न लगाइन्।
गीतकार रत्नशमशेर थापाले गीत लेखे। प्रेमध्वज आफैंले संगीत भरे र गाए। गीत कालजयी बन्यो।
यस्तै अर्को पनि छ, प्रेमध्वजलाई आमाले गीत लेख्न दिएको कथा:
पहिले काठमाडौं सानो थियो। अहिलेको जस्तो घना बस्ती थिएन। बालाजु त्यो समयको पहाड हो, गाउँ हो। त्यहाँका मानिसहरू तरकारी बेच्न काठमाडौं आउँथे र सामान किनेर फर्कन्थे।
त्यही सिलसिलामा काँठ भेगकी एउटी केटी तरकारी बेच्न काठमाडौं आउँछे। उसको ठमेलको केटासँग माया बस्छ। केटाले तिम्रो घर कहाँ हो भनेर केटीलाई सोध्दा बालाजु माथिको पहाड देखाइदिन्छे। केटो केटीको घर खोज्न जान्छ तर गोरेटो मात्रै भेट्छ। यही बिषयमा रत्नशमशेरले अर्को गीत लेखे र प्रेमध्वजले गाए।
गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाकें नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ
प्रधानकी आमा गायिका भएकाले रोमान्टिक थिइन्। त्यसैले विभिन्न कथा सुनाउँदै गीत लेख्न उक्साउथिन्। गायक तथा संगीतकार प्रेमध्वन प्रधानको निधन भएसँगै लेखक तथा गीतकार राजेन्द्र थापाले स्मरण गरेका गीतका कथा हुन् यी।
गोरो अनुहार, अग्लो शरीर, मसिनो स्वरमा बोल्ने लजालु स्वभाव र टाउको झुकाएर हिँड्ने बानी राजेन्द्रको आँखामा आउने प्रेमध्वज हुन्।
८५ वर्षको उमेरमा निधन भएका प्रेमध्वजका धेरै यादहरू छन् राजेन्द्रसँग। प्रेमध्वज असन किलागलमा जन्मिए पनि पछि राजेन्द्र थापाको छिमेकी बन्न आइपुगेका थिए डिल्लीबजारमा।
राजेन्द्रभन्दा प्रेमध्वज झण्डै दुई दशक जेठा हुन्। उनले विगत स्मरण गर्दै भने, 'हामी प्रेम दाइलाई नमस्कार गथ्र्यौं, किनभने उनी चर्चित गायक बनिसकेका थिए।'
राजेन्द्र आर्मीमा थिए, ज्यान कता हुन्छ थाहा हुँदैनथ्यो। राम्रोसँग बोलचाल नभएरै प्रेमध्वजले राजेन्द्रका दुई वटा गीत गाए। फूलको बयानमा बोलको गीत २०२९ सालमा रेकर्ड भयो। लगत्तै २०३० सालमा 'फुर्सत भए आऊ छेउ बस यहाँ' भन्ने गाए। राजेन्द्रले भने, 'यी दुवै त्यो समयमा हिट गीत हुन्।'
यी दुई गीत गाउन्जेल दुई जनाको गतिलो गफ भएको थिएन। राजेन्द्रका साथीसमेत रहेका संगीतकार शिव शंकरले मागेर लगेका गीत प्रेमध्वजले गाएका थिए। पछि २०३४ सालमा प्रेमध्वजले राजेन्द्रको अर्को गीत पनि गाए, पर लैजाउ फूलहरू। यो गीतपछि भने दुई जनाको सम्बन्ध बाक्लिन थाल्यो। राजेन्द्र भन्छन्, ‘हाम्रो सम्बन्ध नजिकिनुमा प्रेम दाइको बिहे मेरी बहिनीकी मिल्ने साथीसँग हुनु पनि हो।’
राजेन्द्रले नै प्रेमध्वजलाई संगीतकार अम्बर गुरुङसँग भेट गराइदिए। दुई जनाको सहकार्य लामो समयसम्म चल्यो।
प्रेमध्वज कसैलाई नाईँ भन्न सक्दैनथे। ‘एकपटक गोरखापत्रमा समाचार आयो, प्रेमध्वजले जस्तो पायो त्यस्तै गीत गायो भनेर,’ राजेन्द्रले भने, ‘मैले प्रेम दाई किन यस्तो भनेर सोधेको उहाँले गीत ल्याउँछन् तिम्रो राम्रो छ गाउँछु, तिम्रो राम्रो छैन गाउँदिन भन्नै सक्दिनँ भन्नुभयो।’
प्रेमध्वज अमेरिकन पुस्तकालयमा जागिरे बने। लामो समयसम्म त्यहाँ काम गरेर पेन्सन पनि पकाए। यसैको फाइदा उठाउँदै कुनै बिदेशी फिल्म आए हेर्न बोलाउँथे राजेन्द्रले स्मरण गरे।
प्रेमध्वज भर्सटाइल सिंगर थिए । उनी जस्ता नोटमा पनि गीत गाउन सक्थे। राजेन्द्रले भने, ‘प्रेम दाई लो नोटमा बोल्थे, तर गीत गाउँदा भने उनको स्वरले संसार थर्काउँथ्यो।’
नेपाली सेनाले रंगशालामा पहिलोपल्ट जनतालाई देखाएको गीतिनाटकमा सबै प्रकारमा गीत प्रेमध्वजले गाएको पनि उनले स्मरण गरे। यस्तो भेराइटी स्वरमा गाउन सक्ने कमै गायक नेपालमा रहेको पनि उनको दाबी छ। गाउँदा गाउँदै नोट परिवर्तन गर्नसक्ने खुबी उनमा थियो।
प्रेमध्वजले पहिलो गीत २०१२ सालमा कलकत्ता गएर रेकर्ड गराएका हुन्। रेडियो नेपालमा त २००९ सालदेखि नै गीत गाउन थाले। उनीभन्दा झण्डै नौ बर्षपछि आएका नारायण गोपाल स्वर सम्राट बने तर प्रेमध्वजलाई त्यस्तो सम्मान मिलेन।
प्रेमध्वजलाई मिडिया र राज्यलेले महत्त्व नदिएको राजेन्द्रको विचार छ। उनी प्रचारमुखी नभएकाले यस्तो भएको पनि उनको सोचाइ छ। भने, ‘प्रेम दाइ प्रचार नचाहने स्वभावको हुनुहुन्थ्यो, कार्यक्रममा प्रमुख अतिथि बोलए पनि म पछाडि ठिक छु, अरुलाई बनाउ भन्नुहुन्थ्यो।’
नेपालले सम्मान नगरेपनि भारतकी संगीतकार जयादेवीले प्रेमध्वजलाई 'द गोल्डेन भ्वाइस अफ एसिया'को उपाधि दिएको थापाले बताए।
प्रेमध्वजको सांगीतिक यात्रा
प्रेमध्वजकी आमा प्राणदेवी प्रधान, राजा त्रिभुवन हुँदा दरवारमा मनोरञ्जन दिने गर्ने कामका लागि गएकी थिइन्। १० बर्षदेखि १९ बर्षसम्म दरवारमा बिताएकाले उनी संगीतमा पोख्त बनिन्।
आमा तुलाधर र बाबु प्रधान भएकाले प्रेमध्वजका बाबुआमाले अन्र्तजातीय बिहे गरे। उनका बाबुआमा राजदरबारमा नाटक देखाउने क्रममा भेटेका थिए। दुबैमा प्रेम भएपछि बिहे भएको थियो। तर, बिहेलाई बाबुका घरपरिवारले स्वीकार गरेन। जुद्दशमशेरको रहोबरमा उनीहरूको सम्बन्धबिच्छेद भयो। बाबुले प्रेमध्वज जन्मेको ६ महिनामा मास्के थरकी अर्की केटीसँग बिहे गरेका थिए।
प्रेमका बाबुले रेडियो किनेका थिए। रेडियोमा हिन्दी गीत मात्रै बज्थ्यो। सबै जना सुतेपछि सानो आवाज बनाएर उनी गीत सुन्थे। त्यही मोहले तानेर नै उनलाई संगीतमा रुचि जाग्यो। साथमा उनकी आमा थिइन्, प्रेमध्वजकी पहिलो संगीत गुरु।
उनको लक्की नम्बर ३ हो। गुरु पनि तीन जना नै। पहिलो गुरु आमा, दोस्रो गुरु उस्ताद गणेशलाल श्रेष्ठ र तेस्रो गुरु भारतीय संगीतकार जयदेवी।
रेडियो नेपालमा हरेक आइतबार स्वर परीक्षा हुन्थ्यो। त्यही हेर्नका लागि उनी एकजना साथी लिएर रेडियो नेपाल पुगेका थिए । स्टुडियोमा कलानाथ अधिकारीका छोराले हार्मुनियमको तीनओटा कि थिचेर हिन्दी गित गाइरहेका थिए।
प्रेमध्वजलाई आमाले हार्मुनियम र तवलाको ताल सिकाएकी थिइन्। यस्तो केहि बजाउन नआउनेले त गाउँदा रहेछन् म पनि कोशिस गर्छु भन्ने सोचेर उनले गीत गाए।
नतिजा आएपछि उनको नाम क श्रेणीमा थियो । यसले निकै हौसला प्रदान ग¥यो।
प्रेमध्वजले चर्चित गीतहरू घुम्तीमा नआऊ है, पर लैजाउ फूलहरूलगायत एक हजारभन्दा धेरै नेपाली गीत गाएका छन् । त्यस्तै राजामती कुमती जस्ता चर्चित नेवारी गीतको संख्या एक सयजति छ। करिब तीसवटा जति भजन गाएका छन्।
अब प्रेमध्वज प्रधाजको पार्थिव शरीर हामीमाझ छैन । उनी सदाका लागि अस्ताए। तर, उनको स्वर भने सदा गुन्जिरहनेछ।
हार्दिक श्रद्धासुमन द गोल्डेन भ्वाइस अफ एसिया प्रेमध्वज प्रधान।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।