देउखुरी–दाङमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मंगलबार राति ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने उर्लेकेनी ओरालोमा सडकबाट करीब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरिको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए।
दुर्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएको प्रहरीको भनाइ छ।
घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरु जीप रिजर्भ गरेर दाङ फर्कंदै थिए।
राति दुर्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ। मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।