मकवानपुर- कोभिड-१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ। कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।
ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले बताए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो।
उनको सोमबार नै पीसीआर परीक्षण गरिएको थियो। स्वाब दिएपछि उनी घर गएकी थिइन्। श्वासप्रश्वासमा समस्या आएपछि ती महिला उपचारका लागि पुनः अस्पताल भर्ना भएकी थिइन्।
उनको मृत्युपश्चात् पीसीआर रिपोर्ट पोजेटिभ आएको डा श्रेष्ठले बताए। योसँगै कोरोनाका कारण हेटौँडा अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ। आइतबार राति हेटौँडा उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष, सोमबार बाराका एक पुरुष र महोत्तरीकी एक महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।