बाँके- यहाँ गत रातभरिमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन्।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका-१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७:०० बजे पीसीआर गरिएको थियो। उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो।
नेपालजञ्ज उपमहानगरपालिका-६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९:३० बजे मृत्यु भएको छ। यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका-५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलिपल्ट पीसीआर गरिएको थियो। गएराति १०:०० बजे उनको मृत्यु भएको छ। नेपालगन्ज-१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ।
यही वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४:०० बजे मृत्यु भएको छ। मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका-११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। यही वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। राति १२:३० बजे उनको मृत्यु भएको छ।
दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। उनको आज बिहान ४:०० बजे मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।