चितवन– जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना शुक्रबार साँझ भएको हो।
डुबेर मृत्यु
माडी नगरपालिका–५ राधापुरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुरेश दराईको एक वर्षीय छोरा सुसन दराई रहेका छन्। इलाका प्रहरी कार्यालय माडीका अनुसार आफ्नै घर सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो।
त्रिशूलीमा बेपत्ता
त्रिशुलीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन्। भरतपुर महानगरपलिका–१ ठिमुरास्थित त्रिशूली नदीमा डुबेर सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई रामनगरको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोषकुमार सुनारी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार त्रिशूलीमा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।