काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन्।
कोरोनाका कारण समयमा महाधिवेशन हुन नसकेपनि पार्टीसँग अन्य विकल्प नरहेको उनले बताए। संविधान अनुसार महाधिवेशन भदौमा हुनैपर्ने उनको धारणा थियो। शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले महाधिवेशन समयमा गराउन नखोजेको आरोपको खण्डन पनि गरे।
कोरोना संक्रमण बढिरहेको बेला महाधिवेशनको कार्यतालिका अनुसार कार्य हुन नसकेको उनले बताए। उनले महामन्त्री डा शशांक कोइरालाको सल्लाह अनुसार केन्द्रीय समिति बैठक स्थगित गरिएको जनाए।
महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल गर्न बोलाइएको बैठक कोभिड संक्रमणकै कारण रोकेको देउवाको भनाइ छ। ‘शशांक कोइराला उहाँ आफैं डाक्टर हो नि। उहाँ पनि कोरोना लागेर घर बस्नुभएको हो’, देउवाले भने, ‘कोभिडको असर के हुन्छ, उहाँलाई बढी थाहा छ।’
केन्द्रीय समिति बैठक रोक्न कोइरालाले सुझाव दिएअनुसार रोकिएको देउवाले दोहोर्याए। ‘उहाँ डाक्टर मान्छेले भनेको पत्याउन पर्यो। डाक्टर महामन्त्रीको सल्लाह नमान्ने कुरा हुन्छ?’ देउवाले भने।
महाधिवेशन समयमा नगर्ने सभापति देउवाको इच्छा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइप्रति खण्डन गर्दै उनले पार्टी सभापति भएदेखि आरोप झेल्दै आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।