फाइल तस्बिर।
काठमाडौं- लुम्बिनी प्रदेश सभाका चार सांसदलाई ‘कारबाही’ गर्ने पार्टीको निर्णयविरुद्ध जसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन्।
जसपा सांसदहरू सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई प्रदेश सभा सदस्य र पार्टीबाट निष्काशसन गरेको सूचना बिहीबार प्रदेश सभा सचिवालयले जारी गरेपछि ठाकुर शुक्रबार आयोग पुगेका हुन्।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याएर उनीहरूलाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएको थियो।
तर, ठाकुरले २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन्।
कारबाहीको निर्णय अवैध एवं गैरकानुनी रहेकोले त्यसलाई आधार मानेर निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन ठाकुरले आयोगलाई बुझाएको पत्रमा माग गरिएको छ।
‘जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक मिति २०७७/०९/०७ गतेपश्चात हालसम्म नबसेको अवस्थामा प्रदेश सभा लुम्बिनी प्रदेशको सचिवालयको सूचना पत्र ४ मा उल्लेखित माननीय सदस्यहरूको प्रदेश सभा सदस्य र पार्टी सदस्य पदबाट निष्काशन गरेको व्यहोरा प्रथम दृष्टीमै अवैध एवं गैरकानुनी रहेकोले सो अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ’, पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।