सांकेतिक तस्बिर
कञ्चनपुर–कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालन गरिने भएको छ। निजी क्षेत्रको १३ करोड ७५ लाख रुपैयाँ लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो।
कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ। कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ। ‘पोटास मल असारदेखि उत्पादन गर्छौं,’ कारखानाका सञ्चालक उमाकान्त जोशीले भन, ‘आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइन्छ।’
मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उहाँले बताए। कारखानाका लागि आवश्यक पर्ने अन्य रासायनिक पदार्थ, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ । कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ।
कारखानाका लागि भौतिक संरचना निर्माण शुरुवातको काम भइसकेको छ। स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ।
साझेदारी फार्मका रूपमा दुई उद्योगीले सञ्चालन गर्ने कारखाना साढे सात हजार वर्गफिटमा बन्नेछ। उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।