ताप्लेजुङ–ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ।
बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ।
घटनापछि प्रताप भनेर चिनिने ३० वर्षीय आकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।