पर्सा- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका- १६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज– १९ बिन्ध्यवासीनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको बिहीबार बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए।
उनले वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको महिलाको स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ५ गते अस्पताल भर्ना गरिएको बताए। त्यस्तै, कडा निमोनिया र उच्च ज्वरोबाट पीडित पुरुषलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको र उनको वैशाख ६ गते रिपोर्ट पोजेटिभ आएको डा दासले बताए।
यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पर्सामा सात सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।