काठमाडौं- नेकपा एमालेका सांसद गोकर्ण विष्टले पदीय हैसियतभन्दा माथि पार्टी र आन्दोलन हुने प्रतिक्रिया दिएका छन्। एमालेका नेपाल पक्षीय २७ जना सांसदलाई स्पष्टीकरण सोधिएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यस्तो उल्लेख गरेका हुन्।
उनको भनाइ छ, 'एउटा इमान्दार कार्यकर्ताको लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथि हुन्छ।'
नेपाल पक्षमा सक्रिय भए पनि उनलाई स्पष्टीकरण सोधिएको छैन। ओली पक्षले अन्य सांसदमाथि कारबाहीको शृंखला चलाएर विग्रहको बाटो रोजिएको प्रतिक्रिया दिएका छन्। अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काउनुको सट्टा कारबाही अगाडि बढाउँदा एकतामा संकट परेको उनले बताएका हुन्।
नेता विष्टको प्रतिक्रिया छ, 'कारबाहीका शृंखलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ। संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन।'
उनले नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकतर्फि र विनाकारण सांसदहरुमाथि कारबाहीका क्रम अघि बढाइएको बताए।
उनको भनाइ छ, 'एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत् समाधान खोज्न म आग्रह गर्दछु।' उनले पार्टी एकताको रक्षा गर्नसमेत अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।