सुर्खेत–कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ।
सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा मंगलबार बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका संक्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै दिने निर्णय गरेको हो।
भारत तथा तेस्रो मुलुकबाट फर्केर प्रदेशका नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र सामान्य लक्षण नभएका संक्रमितको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्नुपर्ने निर्णय भएको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए।
सामाजिक विकासमन्त्री केसीले कर्णालीका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न सरकार निरन्तर लागिपरेको बताए। यो सिजनमा भारतबाट कर्णाली फर्कने नागरिकको लहर चलेकाले प्रवेशद्वारमा जाँचमा कडाइ गर्ने र लक्षण नदेखिएका सङ्क्रमित व्यक्तिलाई सम्बन्धित गाउँपालिकामा सहजै पुर्याउन प्रभावकारी समन्वय र सहकार्यको भूमिका खेल्ने उनको भनाइ छ।
डा खड्काका अनुसार कर्णालीका १० वटै जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेतना कार्यक्रम व्यापकरूपमा अगाडि बढाउने र सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रुलाई अनिवार्यरूपमा मास्क प्रयोग गर्न लगाउन बस व्यवसायी कम्पनीलाई समेत अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।