काठमाडाैं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भर्खरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन्। स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले भने, 'बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अझ प्रचारप्रसारका लागि क्याथेरेश सहरमा स्थापना हुने गार्डेनले महत्त्वपूर्ण भूमिका खेल्नेछ, बौद्ध दर्शन र धर्ममा लाग्नेलाई गौतम बुद्धको जन्मथलोको भ्रमण गर्न प्रेरित गर्नेछ, नेपाल र यहाँका कला संस्कृति, जातीय विविधता, हिमाल र प्रकृति बुझ्न सहज हुनेछ।'
स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्यमुनि बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुरोध गरिएको जानकारी दिए। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुरोध गर्दै उनले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नवीनतम सोच भएको र खुसी प्राप्तिका लागि कसैले अर्काे जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राखेका थिए।
लुम्बिनी गार्डेन फाउण्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूमि र दुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राखे। फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरे।
कतिपय विकसित मुलुक सम्पन्न हुँदाहुँदै पनि हत्या र हिंसाका घटना भइरहेका र शान्तिको खोजीमा रहेको परिस्थितिमा बौद्ध दर्शनको महत्त्वपूर्ण पाटो अहिंसा र शान्तिलाई अघि बढाउन चाहेकाले स्पेनले शान्ति प्रवर्द्धनका लागि सम्मेलनको आयोजना गरेको जनाइएको छ।
स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुइलेरम्मो फर्नाण्डेज भारको निमन्त्रणामा त्यहाँ आयोजित शान्ति सम्मेलनमा भाग लिने सिलसिलामा उनले गत चैत २३ देखि यही वैशाख १ गतेसम्म भ्रमण गरेका थिए। लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजनामा भएको सम्मेलनमा अध्यक्ष तिमिल्सिनाका साथ लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीलगायतको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।