काठमाडौं- कर्णाली प्रदेशसभामा शुक्रबार भएको विद्रोहलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
कर्णाली विद्रोहलगत्तै त्यसको असर गण्डकी प्रदेशमासमेत देखिने भएपछि शनिबार बिहान कोटेश्वरका एक व्यापारीको घरमा प्रचण्ड-नेपालबीच भेटवार्ता भएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शुक्रबार एमालेको नेपालपक्षका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दसिंह बुढाले 'फ्लोर क्रस' गरेर विश्वासको मत दिएका हुन्। नेपालपक्षका यी सांसदले कारबाहीको प्रवाह नगरी मुख्यमन्त्री शाहीलाई समर्थ गरेपछि त्यस विषयमा छलफल गर्न दुई नेताले भेटवार्ता गरेका हुन्।
‘कर्णालीमा देखिएको समस्या र त्यसको असर भोलि नै गण्डकी प्रदेशमा देखिँदै छ। त्यसको विषय समग्र प्रदेश सरकार र संघीय सरकारमासमेत पर्ने देखियो,’ नेपालनिकट एक नेताले भने,‘अरु समसामायिक राजनीतिक विषयमा दुई नेताले छलफल गर्नुभयो।’
उता केपी ओलीपक्षका नेताहरुले भने नेपालपक्षले एमाले पार्टीलाई माओवादीमा मिसाउन समर्थन गरेको टिप्पणी गरेका छन्। उनीहरुले आफ्नै पार्टीको निर्णय उल्लंघन गरेर नेपालपक्षका नेताहरुले आत्मघाती काम गरेको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।