चितवन– इच्छाकामना गाउँपालिकाले बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ। इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका कुनै पनि बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङका अनुसार अब इच्छाकामनाका नागरिकले रगतका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन। सम्झौताअनुसार यो सुविधा लिन इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचयपत्र वा सिफारिसपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।
यस्तै, गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुविधा लिन पाउनेछन्। सम्झौतामा उल्लेख भएअनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ।
योसँगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।