सांकेतिक तस्बिर
चितवन– खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ। सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो।
यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा नं १० मा कठार स्वास्थ्यचौकी, वडा नं २ मा चैनपुर स्वास्थ्यचौकी, वडा नं १२ मा कुमरोज स्वास्थ्यचौकी र वडा नं १३ मा नगर स्वास्थ्य क्लिनिक र बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए।
यसअघि स्वास्थ्य संस्था नभएका वडाका स्थानीयवासीले अब आफ्नै स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्नेछन्। आधारभूत स्वास्थ्य केन्द्रमा अहेव, अनमी र एक कार्यालय सहयोगी नियुक्त गरिएको छ। वडा नं ४ र ९ को आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिका नर्सिङ अधिकृत पूजा गिरीले बताइन्।
केन्द्रबाट परामर्शसहित बिरामीको आवश्यकतानुसार निःशुल्क औषधि वितरणसमेत हुने उनले बताइन्। आफ्नै भवन नभएका केही स्वास्थ्य केन्द्रले सामुदायिक भवनबाट सेवा दिन शुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।