खोटाङ– दिक्तेलस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा बिहान भएको आगलागीमा ५० लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए।
आगलागीका कारण उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीयले करीब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताए।
उद्योगमा भएको आगो नियन्त्रणमा लिइए पनि कुनै सामग्री सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ।
उद्योग सञ्चालक राईका अनुसार भण्डारण गृह र बिक्री कक्षमा राखिएका बाहेक सबै उत्पादित सामग्रीसमेत जलेर नष्ट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।