काठमाडौं–सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्म थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ। विभागले चालु आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्ने तयारी गरेको हो।
अत्यधिक सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ। पाँच चोकका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए।
यी बत्ती जडानका लागि एक करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेको थियो । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो।
तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटीमा बत्ती जडान गरेको थियो। बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताउनुभयो।
विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ । ठाउँठाउँमा उपत्यकाका पालिकाले राखेका पनि बत्ती छन्। यी सबै बत्तीमा कुन बत्ती कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।