काठमाडाैं- राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश सभा संसदीय दलको बैठकले पार्टी केन्द्रले दिने निर्देशन अनुसार अघि बढ्ने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले केन्द्रीय निर्णय अनुसार मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङको पक्ष वा विपक्षमा लाग्ने निर्णय गर्नेगरि सकिएको सांसद पियारी थापाले बताइन्।
तीन सिट रहेको जनमोर्चा सत्ताको निर्णायक दल भएपछि प्रतिपक्ष र सत्ता पक्ष दुवैले फकाउन थालेका छन्। मुख्यमन्त्री गुरुङले राजीनामा दिएका माओवादीका मन्त्रीहरूको स्थानमा जनमोर्चालाई समावेश गर्दै सत्ता गठबन्धन बलियो बनाउने भन्दै फकाइरहेका छन् भने नेपाली कांग्रेसल लगायतका दलले ओली विरुद्धको मोर्चाबन्दी बनाउनुपर्ने भन्दै आएका छन्।
६० प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा एमालेसँग २८ सिट रहेको छ। कांग्रेस १५, माओवादी केन्द्र १२ र जसपाको २ सिट रहेका छन्। यसरी हेर्दा सरकारको विपक्षमा २९ सिट पुगेको देखिन्छ।
त्यसमध्ये माओवादी केन्द्रबाट सभामुख निर्वाचित भएकाले एक सिट कम हुने देखिन्छ। यो अवस्थामा जनमोर्चाको तीन सिट नै निर्णायक भएकाले आफूहरूले केन्द्रको निर्देशन अनुसार अघि बढ्ने सांसद थापाले बताइन्।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले पनि सत्ता गठबन्धन भन्दा बाहिर जान सक्ने बताएकाले अब विपक्षमा हुने उनले बताइन्। ‘पार्टी अध्यक्षले पार्टीको आधिकारिक धारणा बोल्नु भएकाले अब अविश्वासको प्रस्ताव आएमा सर्मथन गर्ने हो’ उनले भनिन् ‘अध्यक्षले जे बोल्नु भएको छ। त्यसैमा जाने छौं। सायद पार्टीले छिट्टै निर्णय गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।