काठमाडाैं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको भन्दै कांग्रेसको नेतृत्वमा निर्वाचनमा जानुपर्ने बताएका हुन्।
'हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद पुनर्स्थापना भन्यौं। तर, अहिले पुनर्स्थापित संसदले बिजिनेश दिन सकेन। सभामुखको भूमिका पनि शंकास्पद रहन गयो,' डा कोइरालाले भने।
कोइरालाले यो सरकार र संसदलाई राखिराख्नु पर्ने कुनै कारण नभएको बताए। यस्तै उनले आगामी महाधिवेशनमा सभापतिबाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने प्रष्ट पारे।
कांग्रेस केन्द्रीय सदस्यहरु कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे र जीवन परियारले कांग्रेसको अहिलेको नेतृत्वले कार्यकर्तामाथि न्याय गर्न नसकेको र विधान अनुसार पार्टी चलाउन नसकेको उनले आराेप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।