मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द भएको छ।
आज (शनिबार) देखि आगामी वैशाख २८ गतेसम्मका लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ।
यो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिए। उनले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताए।
निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको शुक्रबार बसेको संयुक्त बैठकले शनिबार हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ। दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।