काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ।
तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ। अहिले पुरानो प्रणालीमार्फत् पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। उनका अनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ। विभिन्न स्थानमा साना समस्या देखिरहेको भए पनि ठूला समस्या नभएको उनले बताए। उनले भने, ‘बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइरहेको छ।’
लिमिटेले अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा वितरण गरिरहेको छ। अहिले कतिपय घरमा राम्रोसँग पानी आएको त कुनै घरमा राम्रो नआएको भन्ने गुनासो आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए।
पानी नआएको ठाउँमा कसरी सुधार गर्ने भनी लिमिटेडका कर्मचारीले हेरेर समाधान गरिरहेको उनी बताउँछन्। मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत् साढे आठ करोड लिटर पानी ल्याइएको हो। अर्को प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ।
मेलम्ची खोलाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने लिमिटेडले जनाएको छ। कतिपय स्थानमा बाँकी संरचना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती स्थानमा पनि पानी जाने उनले बताए।
लिमिटेडले अहिलेसम्म महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ। तीमध्ये खुमलटारस्थित पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो। बाँकी छ पोखरी पहिलेबाट नै वितरण हुँदै आएका पोखरी हुन्।
अहिलेसम्म लिमिटेडले पुरानो पोखरीबाट पुरानै पाइप प्रणालीमा पानी वितरण गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ पोखरी र पाइपलाइनको परीक्षणको काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।