म्याग्दी–सुक्खायाम सुरु भएसँगै म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी भएको छ। जिल्लाको करिब १२ सय हेक्टर वन क्षेत्रमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन्।
सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्। सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाउँछ।
केही दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको गौस्वारा सामुदायिक वनको ६५ हेक्टर जंगल आगलागीबाट सखाप भयो। सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ सुरक्षाकर्मी स्थानीयवासी परिचालन गर्यो।
स्थानीयवासी र सुरक्षाकर्मीले दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन्। आगलागीबाट सो वनका बहुमूल्य जडीबुटी, जंगली जनावर र वन पैदावार नष्ट भएका गौस्वाराका रत्नबम मल्लले बताए।
यसैगरी, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी सामुदायिक वनमा आगलागी हुँदा करिब ६० हेक्टर जंगलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ।
सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताए।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा १० लाख रुपैयाँ बजेटमा विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायत गतिविधि गर्ने गरेको छ। भौगोलिक विकटता र स्रोतसाधन अभावमा डढेलो तथा आगो नियन्त्रण गर्न कठिन भएकाले सुरक्षा निकायलाई समेत उपकरण सहयोगसहित नियन्त्रणमा पुग्न लाग्ने खर्चसमेत कार्यालयबाटै व्यवस्थापन गर्न आगामी वर्ष थप बजेट माग गरिएको निमित्त प्रमुख खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।