काठमाडौं–नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार सामानसहित ढुङ्गेअड्डाबाट चेतन गोयललाई पक्राउ गरेको हो।
काठमाडौँमा नक्कली कस्मेटिक सामान उत्पादन हुने र यसको प्रयोगबाट कपाल झर्ने, एलर्जी हुनेजस्ता गम्भीर असर देखिएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहीको संयुक्त टोलीले गोयलको कस्मेटिक उद्योगमा खानतलासी गर्दा विसं २०७३ सालमा उच्च अदालत पाटनको निर्णयबमोजिम खारेज भइसकेको ट्रेडमार्क प्रयोग गरी कस्मेटिक सामान उत्पादन भएको पाइएको हो।
प्रहरीले त्यहाँ उत्पादित २४ प्रकारका कस्मेटिक सामान र सामान बनाउन प्रयोग हुने चार वटा मेसिनसहित उद्योग सिल गरेको जनाएको छ। यस्तै सामान भण्डारण गरिएको गोदाम र पसलसमेत सिल गरिएको छ।
सामान ओसारपसार गर्न प्रयोग भएको बा १९ च ८०५३ नम्बरको भ्यान र सो भित्र रहेको आठ बोरा सामान पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गोयलले गुणस्तरहीन मेहन्दी बिक्री गर्ने गरेको, मिति समेत नराखेको, नवीकरण नगरी उद्योग सञ्चालन गरेको बताइएको छ। दुई वर्षअघि पनि उनलाई पक्राउ गरी प्रहरीले कारबाही चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।