फाइल तस्बिर
म्याग्दी–अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ।
अटेर गरेर गुराँस टिप्नेलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले बताए। ‘गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ,’ उनले भने, ‘राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो ।’
घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका गुराँस पाइन्छन्। एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ।
वसन्त ऋतुसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।
वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ।
बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।