काठमाडौं–पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा स्थानीयवासीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।स्थानीयको कुटपिटबाट काभ्रेपलाञ्चोक कुसादेवी बस्ने ३० वर्षीय कृष्ण गुरुङको मृत्यु भएको हो।
गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए।
चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीमा स्थानीय बासिन्दाले शनिबार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै कुटपिटबाट घाइते भएका गुरुङको आइतबार मृत्यु भएको बताइएको छ।
स्थानीय विनोद लाखाको घर नजिकै रहेको च्याउखेतीमा लगाउन बनाइएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा भेटी स्थानीयले गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएको नायव उपरीक्षक गिरीले बताए।
प्रहरीले हत्या गरेको आरोपमा केही स्थानीयलाई पक्राउसमेत गरेको छ।
हत्या अभियोगमा पक्राउ पर्नेमा चाँगुनारायण–२ बस्ने ५० वर्षीय टेकबहादुर केसी सोही ठाउँका ३२ वर्षीय नविन कोजू, भक्तपुर नगरपालिका–७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपलिका–३ घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिशकुमार राय रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।